Loading...

‘एकात्मकवादीको अनुकुलको संविधान मंगोललाई अस्विकार्य’

7 months ago
बाहुन साम्राज्यवादीहरुले आफ्नो अनुकुलमा संविधान लेख्ने तयारीमा रहेकाले त्यस्तो संविधान ८० प्रतिशत अहिन्दु मुलवासी मंगोलहरुलाई स्वीकार्य नहुने मंगोल नेशनल अर्गनाइजेसनका सस्थापक अध्यक्ष डा. गोपाल गुरुङले बताएका छन्। आफूहरु एकात्मकवादी बाहुनवादी राज्य र सरकारको विरोधमा रहेको धरानमा भइरहेको चौथो राष्ट्रिय महाधिवेशनमा डा. गुरुङले बताए। ‘८० प्रतिशत मूलवासी मंगोलहरुलाई लत्याएर बनाएको संविधान आफूहरुलाई स्वीकार्य हुदैन।’ डा. गुरुङले भने। बाहुनवादी सरकारले २०४७ कै संविधानलाई काटछाट गरेर ल्याउने तयारीमा रहेको ठोकुवासमेत गरे। ‘उनीहरुले आफ्नो अनुकुलमा संविधान लेख्छन्।’ उनले भने ‘हाम्रो अनुकुलमा संविधान लेख्दैनन्।’ उनले बाहुनहरुले कथंमकथाचित लेखिहाले पनि आफ्नो अनुकुलमै लेख्ने प्रयास गर्ने बताए। उनले सवै मूलवासीहरु एक भएर अघि बढ्नका लागि आग्रह गरे। अहिले आदिवासी, जनजातिको नाममा विखण्डित भइरहे पनि आफूहरु मूलवासी मंगोल रहेको उनको भनाई थियो। मंगलबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने छ। सैनिक भवनमा जारी महाधिवेशनमा १८ जिल्लाका ढेडसय प्रतिनिधिहरु सहभागी छन्। भोली बन्दसत्र चल्ने छ। जहाँ पार्टीको भावी रणनीति, कार्यक्रमहरु बन्ने छ भने नयाँ केन्द्रीय समितिसमेत बन्ने छ। नयाँ केन्द्रीय समितिले भानुचौकमा बिहीबार खुल्लासभा गर्दै पार्टीको भावी रणनीति सार्वजनिक गर्ने महाधिवेशन मूल आयोजक कमिटिका कोषाध्यक्ष दिनेश बान्तवाले बताए। कार्यक्रममा पूर्व केन्द्रीय सदस्यहरुलेसमेत सम्बोधन गरेका थिए। तोकिएको समय भन्दा झण्डै २ घण्टा ढिला गरी सुरु भएको कार्यक्रम धरान १० स्थित सैनिक भवनमा भइरहेको छ। पुष १५ सेतोपाटीमा प्रकाशित समाचार